विराज त्रिपाठी
गोरखाको ११ वटा मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ । सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा धाँदली गरेको आरोप लगाउदै पुनः मतदान गराउन प्रतिनिधिसभा र प्रदेशसभाका ११ जना उम्मेदवारले माग गरेका छन् ।
नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल लगायतले पुन निर्वाचन हुनुपर्ने माग राखेका हुन् ।
गोरखा २ मा पालुङटार १ को स्थानिका आधारभुत विद्यालय, सिरानचोक ८ को परोपकार मावि जौवारी, बारपाक सुलिकोट गाउँपालिकाको सूर्यज्योती मावि, पालुङटार ७ को जीवनज्योती मावि, बारपाक सुलिकोट ४ को हिमालय मावि, दुर्गा मावि रञ्चोक, अजिरकोट ३ को ज्ञानज्योती माविमा धाँदली भएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेबाट क्षेत्र नम्बर १ का उम्मेदवार रामशरण बस्नेतले सत्ता र शक्तिको आडमा धाँधली गरिएको बताउनुभयो । कतिपय केन्द्रमा मतदान गराउन खटिएका कर्मचारी र सुरक्षाकर्मी मुख दर्शक भएर बसेको पनि उहाँको भनाई छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट क्षेत्र नम्बर २ का उम्मेदवार कवीन्द्र बुर्लाकोटीले अन्य दलका मतदान प्रतिनिधिहरूलाई बोल्न नदिने, मतदाताहरूको इच्छा विपरीत समातेर लगेर मतदान गर्ने, मतदान केन्द्रको ३ सय मिटर भित्रै आचारसंहिता विपरीत काउन्टर राखेर धम्क्याउने, मुचुल्कामा हस्ताक्षर गर्न बाध्य पार्ने जस्ता क्रियाकलाप गरिएको बताउनुभयो ।
