मनकामना मन्दिरमा एक वर्षमा १० लाख भक्तजन, १ करोड २८ लाख चन्दा संकलन

समाचार

गोरखा ।

गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गत असार मसान्तसम्मको एक वर्षमा करिब १० लाखभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। मनकामना क्षेत्र विकास समितिका अनुसार सो अवधिमा भक्तजनबाट १ करोड २८ लाख रुपैयाँ चन्दा संकलन भएको छ।

समितिका कार्यकारी निर्देशक अञ्जन बस्नेतका अनुसार मन्दिरमा सातवटा दानपेटिका राखिएको छ भने रु ५०० भन्दा बढी सहयोग गर्ने भक्तजनलाई रसिदमार्फत रकम संकलन गर्ने व्यवस्था गरिएको छ। उनका अनुसार दानपेटिकाभन्दा रसिदमार्फत बढी रकम संकलन हुने गर्दछ। गत आर्थिक वर्षमा दानपेटिकाबाट मात्र ३३ लाख र रसिदमार्फत ९५ लाख रुपैयाँ संकलन भएको समितिले जनाएको छ।

‘दानपेटिका सामान्यतया दुई महिनामा एकपटक मात्र खोलिन्छ। प्रत्येक पटक करिब ७ देखि ८ लाख रुपैयाँसम्म जम्मा हुन्छ,’ बस्नेतले बताए। उनका अनुसार रसिदमार्फत दैनिक २० देखि २५ हजार रुपैयाँ संकलन हुने गरेको छ।

समितिले संकलित रकम मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन, सुरक्षा व्यवस्था, आन्तरिक खर्च तथा स्थानीय पूर्वाधार निर्माणमा खर्च गर्ने गरेको छ। हाल समितिमा कार्यकारी निर्देशकसहित १४ जना कर्मचारी कार्यरत छन्। जसमा कार्यकारी निर्देशकको तलबभत्ता गण्डकी प्रदेश सरकारबाट र बाँकी १३ जनाको पारिश्रमिक भने चन्दा रकमबाट व्यवस्थापन गरिएको छ।

समितिले दिएको जानकारीअनुसार मन्दिरमा चढाइने भेटीको व्यवस्थापन भने पुजारीहरुले परम्परागत हिसाबले गर्ने गरेका छन्।

मनकामना दर्शन गर्न आउने भक्तजनमध्ये ९० प्रतिशत केबलकारमार्फत र बाँकी १० प्रतिशत मोटरबाटो प्रयोग गरेर आउने गरेका छन्। त्यस्तै, तीमध्ये ७० प्रतिशत भारतीय तथा ३० प्रतिशत नेपाली र अन्य मुलुकका भक्तजन रहेको समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *