गोरखा । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि कार्यकक्षमै हातपातका साथै कार्यालयमा तोडफोड गरिएको छ ।

मंगलबार बिहान १०/११ जनाको एक समूहले क्याम्पस प्रमुख दुवाडीमाथि कार्यकक्षमै हातपात गर्नुका साथै तोडफोड गरेको हो ।
जनयुद्ध दिवसमा सरकारले दिएको बिदाको विषयमा सामाजिक सञ्जालमा विरोध गरेको भन्दै अखिल क्रान्तिकारीका सोही क्याम्पस इकाइका अध्यक्ष अनिस अर्यालको नेतृत्वमा क्याम्पसमा आएका अन्य अपरिचत व्यक्तिको समूहले कार्यकक्षमा छिरेर एक्कासी हातपात गरेको प्रमुख दुवाडीले जानकारी दिए ।
हातपातपछि उनीहरु मोटरसाइकल चढेर भागेका थिए । हातपात र तोडफोडको घटनाको विरोध तथा दोषी उपर कारबाहीको माग गर्दै द्रव्यशाह क्याम्पस प्राध्यापक संघ, कर्मचारी संघ, स्वतन्त्र विद्यार्र्थी युनियन, नेविसंघ क्याम्पस इकाइ लगायतले विज्ञप्ति जारी गरेका छन् ।
घटनाको विरोधमा प्राध्यापक र कर्मचारीले आज पठनपाठन तथा प्रशासनिक कार्यसमेत बन्द गरेका छन् ।
