साउन २२। सहिद मार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस सडकदेखि झन्डै एक सय ५० मिटर तल खस्दा चार जनाको मृत्युु भएको छ भने १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ को तिलाभन्दा झन्डै ३ किलो मिटरयता दिउँसो सवा १ बजेरतिर बस दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार मृत्युु हुनेमा जिल्लाको माडी गाउँपालिकाका २२ वर्षीय प्रकाश बाँठा, माडी–४ का ५१ बर्षीय गोर्खे डाँगी, उनकी श्रीमती ५० वर्षीया हस्ता डाँगी र परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विकको मृत्यु भएको छ।
त्यस्तै १९ जना घाइतेमध्ये रोल्पा नगरपालिका–६ दार्बोटका २५ वर्षीय कमानसिंह घर्ती, माडी गाउँपालिका–२ का २० वर्षीय जितेश बाँठा र त्रिवेणी गाउँपालिका–२ की १७ वर्षीया पूर्णिमा बुढाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।
