विराज त्रिपाठी
गोरखा, असोज २५ । बृहत लोकदोहोरी महोत्सव गोरखाले प्रवेशद्धार देखि मन्च सम्म मदिरा जन्य पदार्थको होडिङ्ग बोर्ड राखेर तथा सार्वजनिक स्थलमा नै मादक पदार्थ विक्री वितरण गरेर सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय गोरखालाई प्रत्यक्ष चुनौती दिएको छ ।
२०८० बैशाख १७ गते सर्वोच्च आदालतबाट आदेशानुसार एक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले कुनै पनि माध्यमबाट मादक पदार्थको विज्ञापन नगर्नु/नगराउनु भन्ने सूचना जारी गरेको थियो । यदी सर्वोच्च अदालतको आदेश विपरितका मादक पदार्थसँग सम्बन्धित विज्ञापन भएका हाडिङ्ग बोर्डहरु राखेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने समेत बताइएको थियो । तर उक्त सूचना प्रकाशित भएको पाँच महिना नवित्दै सम्बन्धित निकायले गोरखा बजारमा सार्वजनिक स्थलमा नै मादक पदार्थको विज्ञापन गर्दा पनि देखे पनि नदेखेको झै गरेको छ ।
गोरखा सदरमुकाम स्थित हरमटारीमा रहेको खेलकुद मैदानमा मादक पदार्थको विज्ञापन गरेको भनेर कार्वाही त परको कुरा उल्टै महोत्सवमा मादक पदार्थको विज्ञापनलाई वेवास्ता गर्दै महोत्सवको शोभा बढाउन गृहमन्त्री नारायण काजी श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपि अनुपम श्रेष्ठ, गोरखा नगरपालिकाको प्रमुख, उप–प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख लगायतको उपस्थितिमा उद्घाटन गरिएको थियो ।उद्घाटनको समयमा गृहमन्त्री कै लाज जोगाउनका लागि भने पनि मन्चको पछाडी भागको टुबोर्ग वियरको विज्ञापन भने अर्को व्यानरले छोपिएको थियो ।
झट्ट ! हेर्दा लोक दोहोरी महोत्सव नभइकन टुबोर्ग वियरको कार्यक्रम जस्तो देखिने मन्चमा आम जनसमुदाय तथा यूवाहरुमा कस्तो प्रभाव पार्दै जान्छ अनुमान गर्न सकिन्छ । त्यस्तै विज्ञापन मात्र नभई सार्वजनिक स्थलमा नै मदिरा जन्य पदार्थहरुको विक्रि वितरण गर्न दिएर अर्को नियम पनि उल्लङ्घन महोत्सवको आयोजकले गरेको छ । महोत्सवका कुनै–कुनै स्टलहरुमा खुल्ला रुपमा लोकल रक्सी, तुम्बा, वियर लगायतको मदीराजन्य पदार्थहरुको खुल्ला विक्री गरि रहेको देख्न सकिन्छ ।
गोरखा रगंशाला खेलकुद मैदानमा हुदै आएका मेला/महोत्सव प्राय विवादित नै रहदै आएको छ । विगतका महोत्सवलाई सम्झने हो भने प्राय झगडा नै याद आउने स्थानीयहरु बताउँछन । स्थानीहरु आक्रोसित हुँदै बताउछन, कीन? कसरी? मेला/महोत्सबमा झगडा हुन्छ भनेर समस्याको सामाधान गर्नको सट्टा उल्टै झगडाको स्रोतलाई नै सार्वजनिक रुपमा विक्रि वितरण गरेर गोरखा बजारमा विकृती फैलाएको आरोप लगाउँछन ।
त्यस्तै मेला/महोत्सवमा प्रस्तुति दिन कलाकारहरु आउँछन त्यस्तै उनीहरुको एक झलक पाउन तथा प्रस्तुती हेरेर मनोरञ्जन लिन आम जनसमुदायहरु आउने गर्छन । तर मनोरञ्जन हेर्न आउदा प्राय मादक पदार्थले लठ्ठ परेर मन्च अगाडी क्रियाकलापहरु गर्दा डर लाग्दो नै अबस्था हुन्छ । आँखा रातो–रातो, ज्यान धान्न पनि गाह्रो, ह्वास्स मदिरा गनाएको नजिक आउँदा महोत्सवको प्राङ्गण अराजकताले भरिएको हुन्छ ।



