बिराज त्रिपाठी
गोरखा, माघ २३ । गोरखामा सोमबार देखि नमुना पम्प औपचारीक रुपमा संचालनमा आएको छ । माघ १ गते देखि सञ्चालनमा आएको गोरखकाली फ्युल सेन्टर प्रालि ले सञ्चालन गरेको नमुना पम्प औपचारीक रुपमा माघ २२ गते सोमबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
पाँच जना व्यवसायीको सात करोड लगानीमा गोरखा–खैरेनी सडगखण्ड अन्तरगत गोरखा नगरपालिका–११ स्थित कोरियन डाँडाँमा गोरखामा पहिलो पटक नमूना पम्प सञ्चालनमा ल्याएको हो।
यसअघि जिल्लामा कलश आयल स्टोर्सले मात्र गोरखा सदरमुकाम स्थित चाइनिज धारा र १० किलोमा संचालन गरेको थियो । गाउँ गाउँमा सडक संचालन आएसँगै साना तथा ठूला सवारीको संख्या सँगै डिजेल पेट्रोलको माग पनि चुलिदैँ आएको छ ।
कतिपय अवस्था कलश आयल स्टोर्सलाई माग अनुसारको पेट्रोलियम पदार्थ आपुर्तीमा समस्या हुदैँ आएको थियो । गोरखकाली फ्युल सेन्टरले संचालन गरेको नमुना पम्प २४ सैँ घण्टा संचालनमा आएसँगै गोरखा सदरमुकाम सहित ग्रामिण क्षेत्रमा गुड्ने सवारीका लागि सहज हुने आशा राखिएको प्रालिका अध्यक्ष सरद बाबु कट्टेलले बताए ।
२४ सै घण्टा सञ्चालन हुने नमुना पम्प ११ रोपनी जग्गा खरिद गरी ९ महिनामा बनाइ सञ्चालनमा लेराइएको कट्टेलले बताए । ६० हजार लिटर भण्डारण क्षमता भएका नमूना पम्पमा आठ वटा सवारी साधन कम्तीमा एक पटकमा ४–४ वटा पेट्रोल र डिजेल नोजलबाट रिफ्युलिङ गर्ने व्यवस्था भएको उनले बताए । कट्टेलका अनुसार न्यूनतम २० वटा साना–ठूला गाडी पार्क गर्न मिल्ने पार्किङ एरिया राखिएको छ, इलेक्ट्रोनिक कार्डबाट समेत खरिद गर्न मिल्ने, न्यूनतम २० जनाले आरामपूर्वक खान मिल्ने कफी सप, रेस्टुरेन्ट, एटिएम काउन्टरको व्यवस्था गरीने, २४सै घन्टा सुरक्षा गार्डको प्रबन्ध भएको, अन्लाईन बिलिङ प्रणाली भएको समेत उनले बताए ।
अच्युत लाल श्रेष्ठ, सरद बाबु कट्टेल, रामहरी केसी, भोला मरहट्ठा र काजीराम श्रेष्ठ नमुना पम्पका लगानीकर्ता रहेका छन् ।
