बिराज त्रिपाठी
गोरखा, असार ७ गते । जिल्लाको शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६० करोड ७ लाख ४४ हजार ९९९ को बजेट ल्याएको छ । पालिकाको १५ औँ गाउँ सभामा उपाध्यक्ष इन्दिरा तिवारीले पुँजीगततर्फ १४ करोड ९७ लाख र चालुतर्फ ४५ करोड ५७ लाख ७४ हजार ९९९ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । यो बजेट चालू आर्थिक वर्षको तुलनामा करिब ४ करोड कम हो ।

गाउँपालिकाले ससर्त र विशेष अनुदान अन्तर्गतका योजना तथा पूर्वाधार निर्माणलाई जोड दिँदै बजेट ल्याएको छ । गाउँ सभामा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उपाध्यक्ष इन्दिरा तिवारीले ससर्त र विशेष अनुदान अन्तर्गतका योजनाका लागि २७ करोड ७६ लाख ६६ हजार बजेट विनियोजन गरेको छ भने पूर्वाधार विकासका लागि ८ करोड १८ लाख बजेट विनियोजन गरेको बताउनु भयो । यस्तै, आर्थिक विकासको लागि एक करोड २८ लाख ४० हजार, सामाजिक विकासको लागि पाँच करोड ६५ लाख ५ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष तिवारीले बताउनु भयो ।
यस्तै, पालिकाले वन वातावरण तथा विपद्को लागि २२ लाख, कार्यालय संचालन तथा प्रशासनिक तर्फ १० करोड ९८ लाख ३३ हजार ९९९ विनियोजन गरेको छ । पालिकाले वडागत बिनियोजनका लागि ५ करोड २९ लाख रुपैयाँ छुट्टाएको छ ।

गाँउपालिकाले चालु आर्थिक बर्षको असार ६ गतेसम्म कुल बजेटको ६२.५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु तर्फ २८करोड १० लाख ७२ हजार ७ सय रुपैया खर्च भएको छ । यो चालु तर्फ विनियोजित बजेटको ६६.१५ प्रतिशत हो । यस्तै पुजिगत तर्फ ११ करोड ९६ लाख २ हजार २ सय १४ रुपैया खर्च भएको छ । यो ५५.४४ प्रतिशत हो ।
चालु बर्षका लागि प्रक्षेपण गरिएको आन्तरिक आयको लक्ष्य अनुसार हालसम्म ८४ प्रतिशत मात्र संकलन भएको छ । २ करोड २५ लाख ८० हजार रुपैया संकलन गर्ने लक्ष्य रहेकोमा जेठ मसान्तसम्म १ करोड ८९ लाख ६२ हजार ७३९ रुपैया संकलन भएको सभामा बताइएको थियो ।