गोरखा । प्रसिद्ध धार्मिक स्थल मनकामना देखि गोरखकाली मन्दिरसम्म ४२.१९५ किलोमिटर दुरीको खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा मंसिर २९ गते खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता मार्फत गोरखा जिल्लाको दुई प्रसिद्ध र महत्त्वपूर्ण धार्मिक केन्द्रको प्रचार प्रसारसँगै जिल्लालाई खेलकुद केन्द्रका रूपमा विकास गर्न तथा यूवा खेलाडी उत्पादन गर्नका लागि म्याराथन दौडले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
मनकामनादेखि सुरु हुने दौड ताक्लुङ, तिनमाने भञ्ज्याङ, घैरुङ, नाम्जुङ, काहुले भंगार(लखन थापा स्मारक), वुंकोट, ढुंगगाडे, अस्पतालचोक, हरमटारीचोक, बसपार्क, कालोबर चौतारा, तिनचापे खानेपानी कार्यालय, पस्लाङ चौतारा, धारापानी, बीपी चौतारा, ठूलोआँगन, सतिपिपल, गैह्रीकुवा, हनुमानढोका(गोरखकाली मन्दिर) हुँदै हनुमान थानमा पुगेर टुङ्गिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण सिंह(शान्त) बस्नेतले जानकारी दिए ।
प्रतियोगितामा १ सय ५० भन्दा बढी धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार, द्वितीय हुनेले १ लाख र तृतीय हुनेले ७५ हजार नगद पुरस्कार पाउने छन् ।
त्यस्तै, चौथो हुनेले ६० हजार, पाँचौँ हुनेले ५० हजार, छैटौँ हुनेले ४० हजार, सातौँ हुनेले ३५ हजार, आठौँ हुनेले २५ हजार, नवौँ हुनेले २० हजार र १० औँ हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिता संचालनका लागि २७ लाख ११ हजार दुई सय ५० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
