६ मंसिर २०८१, बिहिवार
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा ५ शय्याको अस्पतालको निर्माण सम्पन्न भएको छ । देशभरका सवै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने संघीय सरकारको योजना अनुसार गाउँपालिकाको वडा नम्बर ३ खोर्लाबेशीमा ५ शय्याको धार्चे आधारभूत अस्पताल निर्माण गरिएको हो ।

अस्पताल निर्माण भएसँगै धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका झण्डै २० हजार जना लाभान्वित हुने भएको छ ।
पाँच वर्ष अघि २०७६ असोज १२ गते देखि ५ शय्याको अस्पताल निर्माणका लागि तत्कालिन गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र छाँया नेपालका कार्यकारी निर्देशक कमल थापा बीच सम्झौता पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । १ वर्षमा सक्ने लक्ष्य लिइएपनि ५ वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको हो । कोरोना महामारी, बाढी, पहिरोले गर्दा निर्माणमा प्रभावित भएको थियो ।
कुल २ अर्व २८ करोड ६९ लाख ७६३ रुपैयाँ ११ पैसामा अस्पताल निर्माण भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । जसमा गाउँपालिकाको ४० प्रतिशत अर्थात ९१ लाख ४७ हजार ९०५ रुपैयाँ २४ पैसा र छाँया नेपालको १ करोड ३७ लाख २१ हजार ८५७ रुपैयाँ ८७ पैसा खर्च भएको उनले बताए । अस्पातलमा नयाँ ५ वटा तथा पुरानो १ गरी ६ वटा ब्लक रहेको छ ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका जिल्लाकै चुमनुब्री गाउँपालिका पस्चात दास्रो विकट पालिका हो । नजिकै कुनै अस्पताल नभएका कारण यस क्षेत्रका नागरिक बिरामी भएमा सदरमुकाम गोरखा, गोर्खाको भच्चेक वा काठमाडौं, पोखरा, भरतपुर चितवन धाउनु पर्ने अवस्था छ । गाउँमै सुविधा सम्पन्न अस्पताल बनेपछि सामान्य उपचारको लागि पनि टाढा धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय निकै खुसी भएका छन् ।
अस्पताल निर्माण सम्पन्न भएसँगै २४ घण्टा आकस्मिक सेवा, सामान्य चिकित्सा सेवा, दन्त सेवा, इसिजी, एक्स–रे, भिडियो एक्स रे, ओपिडी सेवा, प्रसुती सेवा, ल्याब सेवा, खोपसम्बन्धी सेवा फार्मेसी सेवा उपलब्ध हुने स्वास्थ्य गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अमृतबहादुर घलेले जानकारी दिए ।