गोरखा । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ ।
गोरखा जिल्लामा पनि एचपीभी खोप अभियान मंगलबारबाट नै सुरु भएको छ ।
जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले खोप अभियानको सुरुवात गरेका हुन् ।
गोरखा नगरपालिका-९ लक्ष्मीबजार स्थित महालक्ष्मी माविबाट सो अभियान थालनी गरिएको घोषणा गरेका हुन् । सो क्रममा नगरप्रमुख कृष्ण राना, नगर उपप्रमुख मसली थोकर पुन, वडा नं ९ का वडाध्यक्ष कुँवर लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्य कार्यालय गोरखाका खोप फोकल पर्सन नानीबाबु दानीका अनुसार जिल्लाका ११ स्थानीय तह भित्रका १० हजार २६८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइनेछ ।
आज देखि सुरूवात भएकाे खोप अभियानमा जिल्लाभरका कक्षा ६ देखि १० सम्म पढ्ने र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाका खोप फोकल पर्सन नानीबाबु दानीले जानकारी दिए ।
त्यस्तै, जिल्लाका ११ स्थानीय तह भित्रका १० हजार २६८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने उनले बताए । ‘विद्यालयमा रहेका बालिकाहरुलाई विद्यालय हाता भित्र र बाहिर रहेका बालिकाहरुलाई अभियानको अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाउने गरी तयारी गरिएको छ,’ उनले भने,‘यसको लागि १९४ खोप केन्द्रमा २०५ स्वास्थ्यकर्मी र ४१० स्वयंसेवक परिचालन गरिनेछ ।’
जिल्लामा सबैभन्दा धेरै गोरखा नगरपालिकाको २ हजार ५७३ किशोरीलाई खोप लगाइने भएको छ । अजिरकोट गाउँपालिकाका ५३६, आरुघाट गाउँपालिकाको १ हजार २ जना, गण्डकी गाउँपालिका ७६५, चुमनुब्री गाउँपालिकाका १५५, धार्चे गाउँपालिकाका ६७७ जनालाई लगाइने उनले बताए । त्यसैगरी पालुङटार नगरपालिकाका १ हजार ५५७, भिमसेन थापा गाउँपालिकाका ७१२, बारपाक सुलिकोटका ९७९, शहिद लखन गाउँपालिकाका ५७७ र सिरानचोक गाउँपालिकाका ७१९ जनालाई खोप लगाइने कार्यालयले जनाएको छ ।
सबै खोप केन्द्रबाट फागुन ६ गतेसम्म खोप लगाइने छ । जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सरोकारवाला निकायहरुले आफ्नो धारणा राखेका थिए ।



