गोरखा । पालुङटार नगरपालिका–२ मा अवस्थित ऐतिहासिक आँपपिपल अस्पताल अब गण्डकी प्रदेश सरकारको स्वामित्वमा पुगेको छ। यसअघि पालुङटार नगरपालिकाको मातहतमा सञ्चालन हुँदै आएको अस्पताललाई बिहीबार एक विशेष समारोहका बीच औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।
बिहीवार दिउँसो १२ बजे सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको स्वामित्व ग्रहण गर्दै सेवा विस्तारको पनि शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले कार्यक्रमको क्रममा आँपपिपल अस्पताललाई ५० शैयाको स्तरोन्नत प्रदेश अस्पतालका रूपमा विकास गरिने जानकारी दिए। उनले प्रदेश सरकार स्वास्थ्य सेवाप्रति संवेदनशील रहेको उल्लेख गर्दै अस्पतालमा विशेषज्ञ सेवासमेत नियमित रुपमा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
२०१३ सालमा मिसन अस्पतालको रूपमा स्थापना भएको आँपपिपल अस्पताल २०५८ सालमा विकास समितिको जिम्मामा गएको थियो भने अघिल्लो वर्ष समितिले अस्पताल नगरपालिकालाई हस्तान्तरण गरेको थियो। कुनै समय गोरखा, लम्जुङ र तनहुँका बिरामीका लागि प्रमुख गन्तव्य बनेको यो अस्पताल पछिल्ला वर्षहरूमा सेवाको अभावमा कमजोर बन्दै गएको थियो।
स्थानीय बासिन्दाहरूले भने अब सेवा तथा सुविधा विस्तारको अपेक्षा गर्दै अस्पतालको स्तरोन्नतिमा खुसी व्यक्त गरेका छन्। पछिल्लो निर्वाचनमा अधिकांश उम्मेदवारको प्रमुख चुनावी एजेन्डा बनेको यस अस्पतालको स्तरोन्नति स्थानीयका लागि आशाको किरण बनेको छ।

