गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सम्पन्न, शुक्लागण्डकी (टिम बी) विजेता

समाचार

गोरखा । गोरखा जेसीजद्वारा आयोजित दोस्रो गोरखा जेसीज फुटसल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। गोरखा नगरपालिका–९ स्थित दलबञ्ज्याङ फुटसल मैदानमा चैत २० र २१ गते सम्पन्न प्रतियोगितामा सात जेसीज शाखाका आठ टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा गोरखा, भानु बन्दीपुर, लमजुङ, व्यासनगर, शुक्लागण्डकी (ए र बी), पोखरा र वालिङ जेसीजका टोलीहरूबीच प्रतिस्पर्धा भएको थियो। खेलकुदमार्फत युवाबीच नेतृत्व विकास, समन्वय र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उपाधि शुक्लागण्डकी जेसीज (टिम बी) ले जित्दै नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। आयोजक गोरखा जेसीज उपविजेतामा सीमित हुँदै नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

प्रतियोगिताको उपाधि शुक्लागण्डकी जेसीज (टिम बी) ले जित्दै नगद ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यसैगरी, व्यासनगर जेसीजले फेयर प्ले अवार्ड जित्दा पोखरा जेसीज अनुशासित टिम घोषित भएको छ। शुक्लागण्डकी (टिम बी) का विशाल अधिकारी उच्च गोलकर्ता र बालकृष्ण भुजेल उत्कृष्ट गोलरक्षक घोषित भए। गोरखा जेसीजका जमिर मास्के प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उद्घाटन गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडा नं. ९ का वडाध्यक्ष कुलबहादुर कुँवर प्रमुख अतिथि रहेका थिए। समापन समारोहमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रम संयोजक समिर कुँवरले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। आयोजकले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *