बैशाख २२, गोरखा । गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–७ सिमलटारमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
५० वर्षीय राम बहादुर कुमाल वैशाख २० गते दिउँसो करिब ३ बजे आफ्नै घर नजिकको समीको रुखमा घाँस काट्न चढेका थिए। सोही क्रममा सन्तुलन गुमाएर लडेका कुमाल गम्भीर घाइते भएका थिए।
घटनापछि परिवार र स्थानीयबासीको सहयोगमा उनलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पुर्याइएको थियो। गोरखाबाट थप उपचारका लागि चितवन लैजाने क्रममा उनको वैशाख २१ गते दिउँसो ३:४० बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक कुमालको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
स्थानीय स्रोतका अनुसार कुमाल घरायसी कामका लागि दैनिक रुपमा जंगल जान्थे र घटनाको दिन पनि सामान्य रुपमा घाँस काट्न निस्किएका थिए।
