भिसी गजे घलेको वीरता अब संग्रहालयमार्फत सन्देश बन्ने

समाचार

गोरखा । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज गोरखाको ऐतिहासिक गाउँ बारपाकमा अवस्थित भिसी गजे घले संग्रहालय तथा तारा स्मारकको उद्घाटन गरेका छन् । वीरताको प्रतीक मानिने गजे घलेको सम्मानमा निर्माण गरिएको संग्रहालयले नेपाली सैनीक इतिहासमा नयाँ अध्याय थपेको छ।

मुख्यमन्त्री पाण्डेले उद्घाटन समारोहमा बोल्दै वीर गोर्खाली गजे घलेको योगदानले बारपाकलाई विश्वभर चिनाउने काम गरेको बताए। उनले भने, “भिसी गजे घलेजस्ता वीर सपुतले नेपालीहरुमा आँट, साहस र राष्ट्रप्रतिको कर्तव्यबोध गराएका छन्। उनी सम्पूर्ण गोर्खाली र विश्वकालागि प्रेरणाका स्रोत हुन्।”

दोस्रो विश्वयुद्धमा असाधारण वीरता प्रदर्शन गरी ब्रिटेनको सर्वोच्च सैनिक सम्मान ‘भिक्टोरिया क्रस’ (VC) प्राप्त गर्ने गजे घले १३ जना नेपाली VC विजेतामध्ये एक हुन् । ती मध्ये ३ जना गोरखाबाट थिए। उनको स्मृतिमा उनका परिवारद्वारा निर्माण गरिएको संग्रहालयमा गजे घलेका व्यक्तिगत सामग्रीहरु, जीवनी तथा अनुसन्धानका लागि आवश्यक दस्तावेजहरु प्रदर्शित गरिएका छन्।

सोही अवसरमा मुख्यमन्त्री पाण्डेले ‘गजे घले’ नामक पुस्तकको पनि विमोचन गरेका छन् । उनले सैनीक जीवनमा सिकिएका अनुशासन, समर्पण र जिम्मेवारीलाई समाज निर्माणमा उपयोग गर्न भूतपूर्व सैनीकहरुलाई आग्रह गरे।

मुख्यमन्त्रीले बारपाकमा निर्माणाधीन भूपू कल्याणकारी सेवा समाजको भवनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, बारपाकको विकास र पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए ।

उद्घाटन कार्यक्रममा स्थानीय नेताहरु, भूतपूर्व सैनीक, गजे घलेका परिवारजन तथा स्थानीय नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। संग्रहालयले देशभक्तिका पाठ सिकाउने मात्र नभई बारपाकलाई ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *