गोरखा, असार ३१ । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–६ स्थित जेसीज प्रतीक्षालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजना गरिएको हो।
गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा १५ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रममा स्थानीय बासिन्दा, जेसीज सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा गोरखा जेसीजका पूर्व अध्यक्षहरू कृष्णकुमार श्रेष्ठ (२००४), आनन्द गुरुङ (२०१७) र प्रविण बस्नेत (२०२१) को विशेष उपस्थिति रहेको थियो। साथै नेपाल रेडक्रस सोसाइटीका रक्तसञ्चार संयोजक लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको संयोजन गोरखा जेसीजका उपाध्यक्ष सन्दीप बयलकोटीले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष जोशीले गोरखा जेसीजले समुदायमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै रक्तदानजस्ता मानवीय कार्यहरू समाजका लागि अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा सामुदायिक कार्यक्रमहरूमा स्थानीय सरकारको सहकार्य र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको समापन गर्दै अध्यक्ष श्रेष्ठले रक्तदाता, सहभागी, पूर्व अध्यक्ष, बोर्ड सदस्य, स्वयंसेवक तथा नेपाल रेडक्रस सोसाइटीप्रति आभार व्यक्त गरे। उनले “रक्तदान जीवनदान” भएको उल्लेख गर्दै यस्ता मानवीय तथा सामाजिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
स्वेच्छिक रक्तदानको महत्वबारे जनचेतना फैलाउने उद्देश्यसहित आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गोरखा जेसीजले जनाएको छ।


