२२औं सवालाख रोट महोत्सव भोलिदेखि सुरु, ५० हजारभन्दा बढी भक्तजनको सहभागिता अनुमान

समाचार

गोरखा । भोलिबाट गोरखा दरबार परिसरमा सुरु हुने २२औं सवालाख रोट महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत सिद्वाश्रम शक्ति केन्द्र नेपालका संयोजक रामजी अर्यालले महोत्सवको विस्तृत जानकारी दिएका हुन्।

उनका अनुसार महोत्सवमा सहभागी हुन देशविदेशबाट अनुमानित आउने करिब ४० देखि  ५० हजारभन्दा बढी श्रद्धालुका लागि आवास, खाना, रोटका सामग्रीदेखि पानी र दाउरासम्मको सम्पूर्ण व्यवस्था गरिएको छ। यसपटक पानीको अभाव नहोस भनेर खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र उपभोक्ता समितिले विशेष व्यवस्था गरेका छन्।

भोलि बिहान ८:३० बजे गोरखा सदरमुकामस्थित बैंक रोडबाट सुरु हुने भव्य र्यालीमा गुरु गोरखनाथको रथ, १०८ कन्याहरूको कलश यात्रा, सांस्कृतिक झाँकी र बाजागाजा सहितको सहभागिता रहनेछ। र्याली गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेर समापन हुनेछ। र्यालीपछि झण्डोतोलन र रोट पकाउने विधिको सुरुवात हुनेछ। साईतअनुसार रोट अर्पण गरिने संयोजक अर्यालले जानकारी दिए।

सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा हरेक बर्ष गोरखामा गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा भोलि बाट सुरुवात हुने सवालाख रोट महोत्सवमा गुरु गोरखनाथको बिशेष पूजासहित रोट चढाउने, देवी देवताको पूजा, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधिहरु गर्ने गरिन्छ ।

भक्तजनहरुले गोरखनाथलाई खुशी बनाउन गोरखा दरबारमा रहेको गोरखनाथ मन्दिरमा गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने खाद्य वस्तुको रुपमा गहुँ, जौ र धेरैजसो चामलको पिठोमा विभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाइन्छ। रोटमा जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल, किसमिस जस्ता विशेष मसलाहरु मिसाइन्छ।

‘रोट’—भुङ्ग्रे र ताई गरी दुई प्रकारका हुने गर्दछन्। गुरु गोरखनाथलाई अर्पण गरिने रोट विशेष मन्त्रसहित पूजा विधिबाट तयार पारिन्छ।

आयोजकका अनुसार यसपटकको महोत्सव मानव कल्याण र विश्व शान्तिको कामनासहित थप व्यवस्थित र भव्य ढंगले मनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *