शहिदलखनको बुंकोट स्वास्थ्य चौकी उत्कृष्ट घोषित

समाचार

गोरखा । शहिदलखन गाउँपालिका–७ मा रहेको बुंकोट स्वास्थ्य चौकी पालिकाभित्रकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भएको छ।

गएको आर्थिक वर्ष ०८१/०८२ मा गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुबीच गरिएको समग्र मूल्याङ्कनमा बुंकोट स्वास्थ्य चौकी प्रथम भएको हो। गाउँपालिकाका स्वास्थ्य प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार १८ वटा प्रमुख जनस्वास्थ्य सूचकका आधारमा गरिएको मूल्याङ्कनमा चौकीले १०० मध्ये ८५.९१ अंक प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो।

यस उपलब्धिपछि सहिदलखन गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, घैरुङमा आयोजित कार्यक्रममा चौकीलाई सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको छ।

वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले आफ्नो वडाभित्रको स्वास्थ्य चौकी प्रथम बन्न सफल भएकोमा खुशी व्यक्त गर्दै सबै सरोकारवालाप्रति आभार प्रकट गरेका छन्। “यो हाम्रो गर्वको कुरा हो,” उनले भने, “यस उपलब्धिमा स्वास्थ्य चौकी प्रमुख, सम्पूर्ण कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय, राजनीतिक दल, आमा समूह, टोल विकास संस्था, व्यवस्थापन समिति, वडा वासी, सेवाग्राही र सम्पूर्ण गाउँपालिका परिवारको योगदान रहेको छ।”

पालिका भित्रका अन्य स्वास्थ्य संस्थामध्ये बक्राङ्ग स्वास्थ्य चौकी ८२.८५ अंकका साथ द्वितीय र नामजुङ्ग स्वास्थ्य चौकी ८०.८९ अंकका साथ तृतीय भएका छन्। त्यस्तै मनकामना आधारभूत स्वास्थ्य केन्द्रले ८०.५४, ताक्लुङ आधारभूत स्वास्थ्य केन्द्रले ७९.९५, बुंकोट आधारभूत स्वास्थ्य केन्द्रले ७७.८७, ताक्लुङ स्वास्थ्य चौकीले ७७.१७, घैरुङ स्वास्थ्य चौकीले ७६.६ र मनकामना स्वास्थ्य चौकीले ७४.३७ अंक प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *