गोरखामा दुईवटा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

समाचार

गोरखा । मोटरसाइकल चोरी गरी लुकाई छिपाई राखी बिक्री वितरण गर्ने प्रयासमा संलग्न एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला गोरखाको वारपाक सुलिकोट गाउँपालिका वडा नं ०४ स्थायी ठेगाना भई हाल अजिरकोट गाउँपालिका वडा नं ०४ मा बसोबास गर्दै आएका वर्ष १८ का संजिव तामाङलाई चोरीका दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो।

गोप्य सूचनाको आधारमा मिति २०८२ साल जेठ २ गते दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय, जौवारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले संजिवको डेरामा खानतलासी गर्दा मोटरसाइकलहरू फेला पारेका हुन्।

खानतलासीको क्रममा नम्बर प्लेट नभएको, इन्जिन नं DH2WGG42195 र च्यासिस नं MDZA1126GW27288 भएको १५० सिसिको एक थान पल्सर मोटरसाइकल तथा बा ६४ प ५६६६ नम्बरको रातो-कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल (इन्जिन नं DKYCJC49838 र च्यासिस नं MD2A13EY6JCG50017) बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जेठ ४ गते आइतबार (आज) गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमती लिइएको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीले जानकारी दिएका छन्  ।

साथै, प्रहरीले सर्वसाधारणलाई सस्तो मूल्यमा पाइने लोभमा परेर कागजात नभएका सवारी साधन नकिन्न समेत आग्रह गरेको छ। साथै, कागजात नभएका सवारी साधन देखेमा नजिकको प्रहरी कार्यालय वा यातायात कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *