गोरखामा रोपाइँ तिव्र, ५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न

समाचार

गोरखा | मनसुन समयमै भित्रिएको र वर्षा पर्याप्त भएको कारणले गोरखामा बर्खे धानको रोपाइँ तीव्र गतिमा भइरहेको छ। हालसम्म जिल्लाभर करिब ५५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ।

जिल्लामा यस वर्ष कुल १० हजार १४० हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएको छ। कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार, गत वर्ष असार मसान्तसम्ममा जम्मा ३८ देखि ४२ प्रतिशत रोपाइँ मात्र सकिएको थियो। तर, यस वर्ष नेपालमा १५ दिनअघि नै मनसुन भित्रिएकाले रोपाइँ कार्य तीव्र भएको हो।

सिंचाइको समस्या छैन, उत्पादन वृद्धि हुने अनुमान

बस्ताकोटीका अनुसार, यस वर्ष पर्याप्त वर्षा भइरहेकाले किसानहरूले सिंचाइको समस्या भोग्नुपरेको छैन। विगत वर्ष ३९ हजार ९०० मेट्रिक टन धान उत्पादन भएकोमा यसपालि उत्पादन अझै बढ्ने कृषि प्राविधिकहरूले अनुमान गरेका छन्।

मल अभाव भने यथावत्

यद्यपि रोपाइँ तीव्र भए पनि किसानहरू रसायनिक मलको अभाव खेपिरहेका छन्। बस्ताकोटीका अनुसार, गोरखामा ४ देखि ५ हजार टन मलको माग रहे पनि जिल्लाका लागि अहिले सम्म जम्मा २ हजार टन कोटा मात्र आएको छ। मागभन्दा करिब ५० प्रतिशत कम मल उपलब्ध हुँदा किसानहरू दैनिक रुपमा कृषि ज्ञान केन्द्रमा गुनासो गर्न आइरहेका छन्।

उन्नत जात र हाईब्रिड धानको रोपाइँ

जिल्लामा रामधान, साबित्री, सुख्खा–२ जस्ता उन्नत जातका साथै च्याम्पियन, युएस–३१२ जस्ता हाईब्रिड धानका बिउहरू रोपिएका छन्। साथै, केही किसानहरूले स्थानीय जातका धानहरू पनि लगाएका छन्।

गोरखाको दरौँदी फाँट, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका उपत्यकाहरूमा धान उत्पादन बढी हुने गरेको छ। तर, चिसो र उचाइका कारण उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भने धान खेती गरिँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *