गोरखा । गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो हिउँले पुरिएको अवस्थामा भेटिएका हुन्। शव हेलीमार्फत सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ।
७००५ मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा ती आरोहीहरू हिमपातका कारण बाटो अवरुद्ध हुँदा अलपत्र परेका थिए।
त्यही समूहका ६५ वर्षीय इटालेली भेल्टर परलिनोलाई भने आइतबार हेलिकोप्टरमार्फत आधार शिविरबाट सकुशल उद्धार गरिएको थियो। उनीसँग रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङलाई पनि उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।


