लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने

गण्डकी प्रदेश समाचार
पोखरा ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला, माछापुच्छ«े गाउँपालिकाकोे आयोजनामा भोलि माछापुच्छ«े गाउँपालिकाको वडा नं ४ लाहाचोकमा प्रथम कोदो रोपाई महोत्सव हुने भएको छ ।
नेपाल सरकारले “कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वास्थ्य जीवनको आधार” भन्ने नाराका साथ यसै वर्षदेखि साउनको १६ गते राष्ट्रिय कोदो दिवस मनाउन गइरहेका सन्दर्भमा लाहाचोकमा पहिलो कोदो महोत्सव गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिए ।
महोत्सवका अवसरमा ख्यातीप्राप्त जनगायक जीवन शर्माका साथै स्थानीय कलाकारको मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसँगै पञ्चेवाजाका साथमा आमा समूहहरूबीच कोदो रोपाई प्रतियोगिता समेत गरिने भएको उनले बताए ।
“हामीहरू स्वदेशी उत्पादनमा  आत्मनिर्भर बन्नु आवश्यक छ”, उनले भने, “कोदोजन्य बालीको प्रवद्र्धन गर्दै यसतर्फ कृषकलाई आकर्षित गरी उत्पादन बढाउने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको हो ।”
कोदो वर्षौंसम्म्म नबिग्रने विशेषगरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न हो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने यसको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै बर्सेनी घट्दै गएको छ ।
विशेष गरी पहाडी क्षेत्रमा साउनको पहिलो सातातिर मकै भाँचेपछि सर्वसाधारणले कोदो रोप्ने गर्दछन् । विगतमा कोदो रोपाइँका कारण चापाचाप हुने गाउँबस्तीका अधिकांश बारी यतिखेर बाँझै छन् । कोदोको उत्पादन घट्दै गए पनि यसको माग भने अत्यधिक बढ्दै गएको पाइन्छ । कोदोबाट रोटी, ढिँडो, पुवा जस्ता परिकार बनाउने गरिन्छ भने यसबाट घरेलु मदिरा पनि बनाउने गरिन्छ ।
महोत्सव मार्फत बहुउपयोगी कोदो खेतीप्रतिको आकर्षण बढाउन खोजिएको गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *