गोरखा ।
गोरखा सदरमुकाम नजिकै बुधबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१०, बिरेनचोक निवासी ७० वर्षीय क्षेत्र बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुव प्रसाद शर्माका अनुसार बुधबार साँझ करिब ४ बजे आँबुखैरेनीबाट गोरखा बजारतर्फ जाँदै गरेको लु ६१ प ४६८५ नम्बरको मोटरसाइकलले थापालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका थापालाई तत्कालै उद्धार गरी चितवनको मनकामना अस्पताल लगिएको थियो। उपचारको क्रममा राति ११ बजे उनको ज्यान गएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।
ठक्कर दिने मोटरसाइकल र चालक जिल्ला नवलपुर, मध्यबिन्दु नगरपालिका–१ का २९ वर्षीय साजन जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।