गोरखा, भदौ ५ ।
सांसद राजेन्द्र बजगाईले गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामु राज कडरियाको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
चुमनुब्री गाउँपालिका–२ विही गाउँमा गएको पहिरोपछि आपतकालीन सहयोगका लागि सिडिओलाई सम्पर्क गर्दा गैरजिम्मेवारपूर्ण जवाफ पाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रश्न उठाएका हुन् ।
बजगाईका अनुसार, सिडिओले “प्रत्येक वडा र गाउँपालिकामा जेसीबी उपलब्ध छ” भन्ने प्रतिक्रिया दिए तर विही गाउँ सडकसञ्जालमै नजोडिएको दुर्गम क्षेत्र भएको यथार्थबारे ज्ञान नदेखिएको उनले बताए । साथै, सिडिओले स्थानीयलाई आफ्नै मोबाइलबाट फोन गर्न आदेशात्मक शैलीमा भनेकोप्रति पनि उनले आक्रोश व्यक्त गरे ।
“आपतकालीन अवस्थामा देखाउनुपर्ने संवेदनशीलताको पूर्ण अभाव प्रजिअमा देखियो,” बजगाईले लेखेका छन्, “यसरी प्रशासनिक उदासिनता देखिँदा दुर्गम गाउँका नागरिकले राज्यबाट आपतकालीन सेवा कसरी पाउँछन् भन्ने प्रश्न गम्भीर रूपमा उठ्छ ।”
उनले विपद् व्यवस्थापन प्रणाली र दुर्गम क्षेत्रमा तत्काल सहयोग पुर्याउने संयन्त्र तत्काल सुधार गर्न सरकारलाई आग्रह गरेका छन् ।


