गोरखा । गोरखाको छेवेटारस्थित गोरखा मेमोरियल हस्पिटल प्रालिले बिना अनुमति स्वास्थ्य शिविर सञ्चालन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्दै कार्यक्रम रोक लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अस्पतालले गर्न लागेको निःशुल्क भिडियो एक्सरे तथा हाड–जोर्नीसम्बन्धी बिरामी चेकजाँच कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो ।
बैठकपछि अस्पतालका व्यवस्थापक दाउत तामाङलाई प्रशासनले बयान लिई तारेखमा छाडेको छ । ‘अस्पताल दर्ता भएपनि अहिलेसम्म नविकरण नगरिएको पाइएकाले तत्काल नविकरण गर्न निर्देशन दिइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
उनका अनुसार अस्पतालको दर्ता नवीकरण नगरिएको र आवश्यक कागजात नपुगेकाले थप अनुसन्धान अघि बढाइएको छ ।
प्रशासनले बोलाएको बैठकमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिक, वडा नं. ५ का वडाध्यक्ष विण्णु बहादुर राना, प्रदेश गोरखा अस्पतालका मेसु डा. सिद्धार्थ खनाल, गोरखा नगरपालिकाका निश्चल अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालयका सुकमेल बरालसहित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।