गोरखामा धितो जग्गा लिलाम विवाद : ऋणी र फाइनान्सबीच आरोप–प्रत्यारोप

समाचार

गोरखा । गोरखा नगरपालिका–७ का टंकराम कोइरालाले रिलायन्स फाइनान्स लिमिटेड गोरखाले आफूलाई जानकारी नदिई धितो राखेको जग्गा लिलाम बिक्री गरेको गुनासो गरेका छन्। उनले बिहीबार गोरखा नगरपालिका–५ का वडाअध्यक्ष विष्णुबहादुर रानालाई ध्यानाकर्षण पत्र बुझाउँदै लिलाम प्रक्रियाबारे आपत्ति जनाए।

कोइरालाका अनुसार उनले २०७८ साल असोज १८ गते फाइनान्सबाट कृषि प्रयोजनका लागि १० वर्षे अवधिको १२ लाख रुपैयाँ ऋण लिएका थिए। गोरखा नगरपालिका–५ पश्चिमकाली नजिकैको कित्ता नं. २५४९ जग्गा धितो राखेर लिएको उक्त ऋणको मासिक १७ हजार रुपैयाँ किस्ता बुझाउँदै आएको दाबी उनले गरेका छन्।

उनले २०८२ असार ३ गतेसम्म किस्ता बुझाएको प्रमाण बैंक स्टेटमेन्टमै रहेको उल्लेख गर्दै २०८२ जेठ ७ गते भने आफ्नो जग्गा १४ लाख २५ हजार रुपैयाँमा लिलाम बिक्री भएको थाहा पाएको बताए। सो क्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र वडाअध्यक्षको संलग्नता रहेको दाबी उनले गरेका छन्।

ध्यानाकर्षण पत्रमार्फत कोइरालाले लिलाम प्रक्रियाले नेपालको संविधानमा सुनिश्चित मौलिक हक तथा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनको उल्लङ्घन भएको बताएका छन्। वित्तीय साक्षरता जागरण समाजका केन्द्रीय महासचिव कृष्णबहादुर तामाङले पनि धितो जग्गा लिलाम प्रक्रियामा प्रश्न उठाउँदै यसले ऋणीलाई थप संकटमा धकेल्ने टिप्पणी गरेका छन्।

यस विषयमा वडाअध्यक्ष रानाले आफूले गैरकानुनी काम नगरेको दाबी गर्दै प्रक्रियागत रूपमा आएको पत्रका आधारमा मात्र सिफारिस गरिएको स्पष्ट पारे। उनले आवश्यकता परे सच्याएर पीडितलाई न्याय दिने पक्षमा रहेको बताए।

यता रिलायन्स फाइनान्स गोरखाका शाखा प्रमुख सुबोध लामिछानेले भने ऋणीले लामो समय किस्ता नतिरेपछि कानुन बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र लिलाम गरिएको दाबी गरे। उनका अनुसार ६ महिनाभन्दा बढी किस्ता नतिरेपछि ऋणीलाई सूचना दिने, कालो सूचीमा राख्ने र राष्ट्रिय पत्रिकामा ३५ दिने सूचना प्रकाशित गर्ने कानुनी प्रक्रिया पूरा गरिएको हो।

फाइनान्सले कोइरालाकी श्रीमती कौशिला कोइरालाले पनि सोही धितो जग्गामार्फत थप ३ लाख सहुलियत कर्जा लिएको र दुवैजनाले किस्ता समयमा नतिरेको जनाएको छ। तर, कौशिला कोइरालाले भने आफुले हालसम्म किस्ता बुझाउँदै आएको, एकमुष्ट रकमसमेत बुझाएको तर त्यसको हिसाब नदेखाइएको गुनासो गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *