गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ । यसलाई मनोरञ्जनको ट्रेन्ड नभई युवापुस्ताले भ्रष्टाचारविरुद्ध चलाएको अभियानका रूपमा लिइएको छ ।
केही समय अघि फिलिपिन्समा यो अभियान सञ्चालनमा आएको थियो । जसमा फिलिपिन्सका राजनीतिज्ञ र सरकार मातहत हरका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको थियो । त्यस्तै नेपालमा पनि राजनीतिक परिवारका सन्तानहरूलाई लक्षित गर्दै यो ट्रेन्ड फैलिएको हो ।
युवा पुस्ताले राजनीतिक तथा प्रभावशाली व्यक्तिहरूका सन्तानलाई लक्षित गर्दै उनीहरूको विलासी जीवनशैलीबारे प्रश्न उठाएका छन् । टिकटकमा #PoliticiansNepoBabyNepal ह्यासट्यागसहित बनाइएका भिडियोमा नेताका छोराछोरीले देखाउने महँगा गाडी, विदेशमा अध्ययन, वैभवशाली जीवनलाई करदाताको पैसामाथिको अन्यायसँग तुलना गरिएको छ ।
रेडिटमा समेत युवाले आक्रोश पोख्दै लेखेका छन्, “सामान्य युवाले रोजगारीकै लागि विदेशिनुपर्ने बाध्यता छ, तर नेताका सन्तान करदाताको पैसामा विदेशमा विलासी जीवन बिताइरहेका छन्।”
यो अभियानले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको छ । कतिपय भिडियोमा भनिएको छ– “के उनीहरूले आफ्नो दक्षता र मेहनतका कारण यो जीवन पाए, वा आफ्ना बुबाआमाको भ्रष्ट शक्ति र सम्पत्तिका कारण ?”
युवाहरूले यो ट्रेन्डलाई केवल भर्चुअल प्लेटफर्ममा सीमित नराखी सडकसम्म लैजाने चेतावनी दिएका छन् । रेडिटमा भएको छलफलअनुसार सोमबार बानेश्वरसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी समेत भइरहेको छ ।
तर, यसबारे केही युवाबीच असहमति पनि छ । कतिपयले ‘अभिभावकको गल्तीका लागि छोराछोरीलाई सार्वजनिक रूपमा सजाय दिनु गलत हुने’ भन्दै यसले निजी जीवनमा नकारात्मक असर र साइबर बुलिङलाई बढावा दिन सक्ने चेतावनी दिएका छन् ।
यसरी, ‘नेपो किड’ ट्रेन्डले एकातर्फ भ्रष्टाचार र असमानताविरुद्ध युवा पुस्ताको असन्तुष्टि उजागर गरेको छ भने अर्कोतर्फ यसको सामाजिक प्रभावबारे बहस पनि सुरु भएको छ ।