गोरखा । गोरखा सदरमुकामस्थित रानीपोखरीमा होली पर्वको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा गोरखा मल्टिट्यालेन्ट ग्रुप (जी.एम.जी) ले ‘जी.एम.जी होली ग्रान्ड इभेन्ट ५’ गर्ने घोषणा गरेको हो।
कार्यक्रममा स्थानिय चर्चित कलाकारहरूसँगै राष्ट्रिय लोकदोहोरी गायक पृथ्वी गुरुङ्गको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई अवसर प्रदान गर्न नृत्य प्रतियोगिता, हास्यव्यङ्ग्य प्रहसन र गोरखा जिल्लाका सक्रिय सांगीतिक समूह (व्यान्ड) हरूको विशेष प्रस्तुति समेत रहनेछ।
गोरखा मल्टिट्यालेन्ट ग्रुपका अध्यक्ष साजन गुरुङ्गले विगत दुई वर्ष कोरोना महामारीका कारण रोकिएको कार्यक्रम पुनः निरन्तरता पाउन लागेको बताउँदै यस पटक थप आकर्षणका रूपमा रेन डान्स समेत समावेश गरिएको जानकारी दिए।
उक्त कार्यक्रम चितवन रक्सको सहकार्यमा हुन लागेको हो भने सामाजिक सञ्जालमा लोकप्रिय दारी ग्याङ्गको साझेदारीमा डिजे सचेत, विक्रम राज श्रेष्ठ, कुशल गथाने, जिदान तथा युनाइटेड सेभेन क्लब लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्।
कार्यक्रमको मुख्य प्रायोजक धारापानी गाइज रहेको छ। होली विशेष साङ्गीतिक कार्यक्रम फागुन २९ गते बिहीबार बिहान १२ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको प्रवेश शुल्क २०० रुपैयाँ तोकिएको छ।
गोरखा र आसपासका दर्शक तथा होलीप्रेमीहरूका लागि आकर्षणको केन्द्र बन्ने अनुमान गरिएको यस कार्यक्रमलाई थप रोमाञ्चक बनाउन विभिन्न मनोरञ्जनात्मक तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिने आयोजकले जनाएको छ।
