गोरखा । गोरखामा डेंगी र स्क्रबटाईफसका संक्रमण तीव्र रुपमा फैलिएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा हालसम्म करिब २०० जना संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायण अर्यालका अनुसार भाद्र ३० गतेसम्मको तथ्यांक अनुसार जिल्लामा १३९ जना स्क्रबटाईफसका र ५८ जना डेंगीका बिरामी फेला परेका छन् । उनका अनुसार पछिल्लो समयमा डेंगीभन्दा बढी स्क्रबटाईफसका बिरामी देखिएको छ ।
आरुघाट गाउँपालिकामा १५ जना डेंगी र १५ जना स्क्रबटाईफस, भिमसेन थापा गाउँपालिकामा १३ जना डेंगी र ३४ जना स्क्रबटाईफस, पालुङटार नगरपालिकामा ८ जना डेंगी र ३० जना स्क्रबटाईफस, शहिद लखन गाउँपालिकामा ४ जना डेंगी, अजिरकोट गाउँपालिकामा ३ जना डेंगी र १ जना स्क्रबटाईफस संक्रमित भेटिएका छन् ।
सबैभन्दा धेरै संक्रमण गोरखा नगरपालिकामा देखिएको छ । प्रदेश अस्पताल गोरखाका मेडिकल रेकर्डर तिलक आचार्यका अनुसार अस्पतालमै गरिएका परीक्षणमा १५ जना डेंगी र ५९ जना स्क्रबटाईफसका बिरामी पुष्टि भएका छन् ।
जिल्लामा साउन यता मात्रै यो संख्या फेला परेको हो । गत वर्ष डेंगी अत्यधिक मात्रामा देखिएकोमा यस वर्ष भने स्क्रबटाईफसका संक्रमित बढेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

