गोरखा । वडादशैं अर्थात नवरात्रको पहिलो दिन घटस्थापना पर्वको अवसरमा गोरखा दरबारको दशैंघर सहित विभिन्न स्थानमा विधिपूर्वक जमरा राखिएको छ ।
आज बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा दरबारको गर्भगृह, जमरा कोठा, गोरखनाथ गुफा, उपल्लो कोट र तल्लो कोटमा गरी २ पाथी ७ माना जौंको जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
परम्परा अनुसार बिहानै कैलास कोठाबाट देवी भगवती (कालिका) लाई गर्भगृहमा सवारी गराइ पदस्थापना गरेपछि पानी घडा थापेर जमरा राख्ने प्रथा रहेको छ । त्यसअघि मन्दिरको पटाङगिनीमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन माझ्ने तथा शैलपुत्रीको पूजाका लागि सामाग्री तयारी गर्ने परम्परा समेत पालना गरिएको थियो ।
गोरखा दरबार र कालिका मन्दिरमा १–१ पाथी, गोरखनाथ गुफामा ४ माना, उपल्लो कोटमा २ माना र तल्लो कोटमा १ माना जौंको जमरा राखिएको बताइएको छ । गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्रै देशभरका हिन्दू धर्मावलम्बीले घर–घरमा जमरा राख्ने परम्परा रहँदै आएको छ ।
त्यस्तै, गोरखाको अर्को धार्मिकस्थल मनकामना मन्दिरमा पनि आज बिहानको शुभसाइतमा मकै र जौं गरी १ माना जमरा राखिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापाले जानकारी दिए ।
धार्मिक विश्वास अनुसार घटस्थापनाका दिन राखिएको जमरा विजयादशमीका दिन टीकासँगै लगाउँदा शुभ हुने मान्यता छ ।
