गोरखा । दशैं सकिएपछि कामका लागि राजधानी फर्कन लागेका यात्रुहरू टिकट काटेर पनि गन्तव्यतर्फ यात्रा गर्न नपाएपछि गोरखा बसपार्क क्षेत्रमा तनाव सिर्जना भएको छ। टिकट काटेका यात्रुहरू अलपत्र परेपछि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी गोरखाले प्रहरी प्रशासनको सहयोगमा केही माइक्रोबस नियन्त्रणमा लिएको जनाएको छ।
अविरल वर्षापछि हिजो आइतबारदेखि राजधानी जाने बाटो सहज बनेसँगै केही माइक्रोबसहरू बिच बाटोमै यात्रु लिएर महँगो भाडा असुल गर्दै आएका थिए। यसले गर्दा काउन्टरबाट टिकट काटेका यात्रुहरू अलपत्र परेका थिए।
सेवा प्रदायक प्रमुख प्रविन बस्नेतका अनुसार यात्रुहरूको गुनासो बढेपछि समितिले प्रहरीलाई आग्रह गरी सवारी नियन्त्रणमा लिएको हो। हिजो समितिले सरकारी निर्णय अनुसार काउन्टर बन्द राखे पनि आज बिहानैदेखि टिकट काटेका यात्रुहरूलाई राजधानी पठाउन थालिएको छ।
गोरखा बसपार्कमा बिहानैदेखि टिकटका लागि लाम लागेको र यात्रुहरूको भीड देखिएको छ।
