गोरखा । गोरखा सदरमुकामस्थित ऐतिहासिक गोरखा दरबार संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरूको संख्या यो वर्ष उल्लेख्य रूपमा बढेको छ। संग्रहालय प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्र १८ हजार ४५५ जनाले संग्रहालय अवलोकन गरेका छन्।
संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार यो संख्या गत वर्षको सोही महिनाभन्दा करिब ३ हजारले बढी हो।
“गत वर्षको तुलनामा अहिले दर्शक संख्या निरन्तर बढ्दै गएको छ,” प्रमुख कार्कीले बताए।
यस वर्ष कार्तिकमा अवलोकनकर्ता
- नेपाली विद्यार्थी : १०,३५६ जना
- नेपाली : ७,६७५ जना
- सार्क राष्ट्र : २ जना
- तेस्रो देशका नागरिक : ४२२ जना
गत आर्थिक वर्ष ०८१/०८२ को कार्तिकमा ७,६२० जना नेपाली विद्यार्थी, ७,४८२ जना नेपाली, ३ जना सार्कका नागरिक र ३५६ जना तेस्रो देशका नागरिकले अवलोकन गरेका थिए।
चार महिनामै ३६ हजारभन्दा बढी अवलोकन
संग्रहालयका अनुसार यस आर्थिक वर्षको साउनदेखि कार्तिकसम्म चार महिनामा कुल ३६ हजार ५०६ जनाले संग्रहालय अवलोकन गरिसकेका छन्।
- साउन : ७,२४७ जना
- भाद्र : ४,६८५ जना
- असोज : ६,११९ जना
- कार्तिक : १८,४५५ जना
राजस्व पनि बढ्दो
लेखा शाखाका अनुसार संग्रहालयले कार्तिक महिनासहितको अवधिमा ८ लाख ३० हजार २१० रुपैयाँ राजस्व संकलन गरेको छ।
यो वर्ष रेकर्ड तोड्ने अपेक्षा
संग्रहालयको इतिहासमा गत वर्ष मंसिरमा सबैभन्दा धेरै २१ हजार २०१ जनाले अवलोकन गरेका थिए।
यस वर्ष कार्तिकमै अवलोकनकर्ता वृद्धि भएकाले मंसिरमा २५ हजारभन्दा बढी दर्शक पुग्ने अपेक्षा संग्रहालय प्रशासनले गरेको छ।
