गोरखा, ६ पुस । गोरखा नगरपालिका-१० स्थित मनकामना आवासीय बहिरा विद्यालयमा अध्ययनरत एक विद्यार्थीको लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ घर भएका १५ वर्षीय आदिप राना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ।
शनिबार राति खाना खाएपछि कोठामा साथीहरूसँग टिभी हेर्दै गरेका रानाले छाती दुखेको गुनासो गरेका थिए। शौचालय गएर फर्किने क्रममा उनी कोठामै लडेका थिए। तत्काल एम्बुलेन्समार्फत गोरखा अस्पताल ल्याइए पनि चिकित्सकले राति ११ः३० बजे मृत घोषणा गरेको विद्यालयले जनाएको छ।
कक्षा ७ मा अध्ययनरत राना गत वर्ष मात्र विद्यालयमा भर्ना भएका थिए। घटनापछि परिवारलाई जानकारी गराइएलगत्तै शव पोस्टमार्टमपछि परिवारले बुझेर कञ्चनपुर लगेको विद्यालय प्रशासनले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
