दाङ । मङ्सिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्ति दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ काभ्रे निवासी ३३ वर्षीय लेखराज केसी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो। केसीलाई पुस ४ गते बिहान करिब ७ बजे राजपुर–१ मारुनी खोला क्षेत्रको जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दाङ जिल्ला अदालतबाट पुस ४ गतेदेखि लागू हुने गरी ८ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिएका छन् । फरार अभियुक्तलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय लमहीको संयुक्त टोली परिचालन गरिएको थियो।
