गोरखामा १३ दलका उम्मेदवारसहित ३ स्वतन्त्रको मनोनयन दर्ता

समाचार

गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संयुक्त नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल रिपब्लिक नेपाल र आम जनता पार्टी रहेका छन् ।

यीमध्ये संयुक्त नागरिक पार्टीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मात्र उम्मेदवारी दर्ता गरेको छ भने आम जनता पार्टीको तर्फबाट क्षेत्र नम्बर २ मा मात्र उम्मेदवारी परेको छ ।

गोरखा–१ का उम्मेदवारहरू
गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रेमकुमारी खत्री, नेकपाबाट हरिराज अधिकारी, एमालेबाट आरसी लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुधन गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोपालबाबु श्रेष्ठ, नेकपा (माओवादी) बाट विष्णुप्रसाद रिजाल, उज्यालो नेपाल पार्टीबाट रामकाजी राना मगर, राप्रपाबाट केदारमणी खनाल, नेमकिपाबाट मनुकुमारी श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसनबाट देवबहादुर थापा, संयुक्त नागरिक पार्टीबाट जितबहादुर घले तथा नेशनल रिपब्लिक नेपालबाट आकाश राना मगरले उम्मेदवारी दिएका छन् ।

गोरखा–२ का उम्मेदवारहरू
त्यस्तै गोरखा क्षेत्र नम्बर २ मा कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपाबाट लेखनाथ न्यौपाने, एमालेबाट मिलन गुरुङ (चक्रे मिलन), राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाबुराम भट्टराई, राप्रपाबाट कुलबहादुर बस्नेत, नेकपा (माओवादी) बाट टेकबहादुर प्रधान, उज्यालो नेपाल पार्टीबाट बलराम तामाङ, नेमकिपाबाट रामशरण बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसनबाट सोमबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट प्रसाद गुरुङ र आम जनता पार्टीबाट कल्पना कुमालले मनोनयन दर्ता गराएका छन् ।

तीन जना स्वतन्त्र उम्मेदवार
आसन्न निर्वाचनमा तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गोरखा–१ बाट कविता भट्टराई तथा गोरखा–२ बाट चुडाप्रसाद ढकाल र हरि पोखरेलको स्वतन्त्र उम्मेदवारी परेको छ । भट्टराई गोरखा नगरपालिका–१ की हुन् । ढकाल सिरानचोक गाउँपालिका वडा नम्बर २ का हुन् भने पोखरेल अजिरकोट गाउँपालिका–५ का हुन् ।

मनोनयन दर्तासँगै गोरखामा प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *