गोरखा, १६ जेठ २०८०, मंगलवार । भीमसेन थापा गाउँपालिकाले पालिका भित्रका सवै नागरिकहरुको निशुल्क दुर्घटना बीमा गर्दिने भएको छ ।
१६औं गणतन्त्र दिवसको अबसरमा गाउँपालिका भित्रका १६ हजार ९ सय ८६ जना नागरिकहरुको निशुल्क कुल १२ लाख १६ हजार ६४२ रुपैया २५ पैसामा सामुहिक दुर्घटना बीमा गरिएको गाउँपालिका प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सवै नागरिकहरुको सामुहिक दुर्घटना बीमा गरेको उनले जानकारी दिए । ‘राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिका बिच समझदारी पत्रमा सोमबार हस्ताक्षर भएको छ,’ उनले भने, ‘सम्झौता संगै बीमा कार्यक्रम पनि लागू भएको छ ।’
बीमा कम्पनी र गाउँपालिका बिच भएको सम्झौता आगामी २०८१ साल जेठ १५ गतेसम्म लागू हुने गरी सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष बन्जरा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालाले हस्ताक्षर गरेका हुन् ।
