गोरखा । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रथम पृथ्वीनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो खेल आज सम्पन्न भएको छ ।
गोरखा नगरपालिका–१० छेवेटारस्थित खेल मैदानमा सम्पन्न दोस्रो खेलमा सातदोबाटो युवा क्लब र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो ।
खेलको पहिलो हाफमा चित्लाङ फुटबल क्लबका जर्सी नम्बर १७ का आशिष सोनामले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
सोनामको उक्त गोल नै निर्णायक बनेपछि चित्लाङ फुटबल क्लबले १–० को जित हात पार्यो । उत्कृष्ट प्रदर्शन गरेका आशिष सोनाम नै सो खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका ७ क्लब र आयोजक गोरखा स्पोर्ट्स डेभलपमेन्ट कमिटीसहित कुल ८ टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
गोल्डकपलाई लक्षित गर्दै छेवेटार क्षेत्रमा खाना महोत्सव पनि आयोजना गरिएको छ । महोत्सवमा स्थानीय परिकारका साथै विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।
