गोरखा । गोरखा नगरपालिका–१२ को १० किलोस्थित अढाईगाउँ खेलमैदानमा सम्पन्न चौथो राइजिङ स्टार कप फुटबल प्रतियोगिताको उपाधि द मन्सटर फेमिलीले जितेको छ। आइतबार भएको फाइनल खेलमा बेनीखोला फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै द मन्सटर फेमिली च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक खेलमा द मन्सटर फेमिलीका लागि दोस्रो हाफको १७ औं मिनेटमा रोजल दाहालले पहिलो गोल गरेका थिए। त्यसपछि २३ औं मिनेटमा सन्तबहादुर गुरुङ (कान्छा) ले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे।
द मन्सटर फेमिलीले सेमिफाइनलमा गत संस्करणको विजेता खोप्लाङ फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने बेनीखोला फुटबल क्लबले मार्कीचोकलाई हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ खोप्लाङ फुटबल क्लबका सुदिप क्षेत्री सर्वाधिक गोलकर्ता घोषित भए। द मन्सटर फेमिलीका रमेश श्रेष्ठ उत्कृष्ट गोलरक्षक तथा सजिन थापा सर्वोत्कृष्ट खेलाडी बने। उनीहरूले जनही नगद रु. ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
९–ए साइड खुल्ला नकआउट फुटबल प्रतियोगितामा कुल २० टोलीको सहभागिता रहेको थियो। उपाधिसँगै द मन्सटर फेमिलीले नगद रु. १ लाख १ हजार १ सय ११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बेनीखोला फुटबल क्लबले नगद रु. ५० हजार ५ सय ५५ सहित ट्रफी हात पारेको आयोजकले जनाएको छ।
