गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट गाउँपालिकाको समन्वयमा नागेपोखरी क्षेत्रमा दुई दिने पदयात्रा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पारिस्थितिकीय महत्व बोकेको प्रसिद्ध नागेपोखरीको संरक्षण, पर्यापर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धि तथा यसको पारिस्थितिकीय महत्वबारे जानकारी प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।
कार्यक्रममा अजिरकोट गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित सञ्चारकर्मीहरू, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरू, डिभिजन वन अधिकृतसहित वन कार्यालयका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
पदयात्राका क्रममा सहभागीहरूले नागेपोखरी क्षेत्रको प्राकृतिक, जैविक तथा सांस्कृतिक महत्वको अवलोकन गर्दै सिमसार संरक्षणका चुनौती र सम्भावनाबारे छलफल गरेका थिए। साथै स्थानीय स्तरमा संरक्षण अभियानलाई थप प्रभावकारी बनाउने र पर्यापर्यटनमार्फत क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने विषयमा समेत जोड दिइएको थियो।
डिभिजन वन कार्यालय गोरखाले यस्ता कार्यक्रमले सिमसार क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायमा वातावरणीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।



