पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ गति लिएको छ। संयुक्त अरब इमिरेट्सको चर्चित वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको छ।
टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा लामो छलफल र निरीक्षण गर्दै धावनमार्ग, सुरक्षा व्यवस्था, प्राविधिक पूर्वाधार तथा उडान सञ्चालनका विभिन्न पक्षहरूको अध्ययन गरेको थियो।
निरीक्षणपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको थियो। सो क्रममा उपाध्यक्ष लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्राविधिक तथा सुरक्षाका दृष्टिले पूर्ण रूपमा सक्षम र सुरक्षित रहेको बताएका छन्।
उनले विमानस्थलको पूर्वाधार र तयारीबाट आफू प्रभावित भएको उल्लेख गर्दै फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक रहेको जानकारी दिए।
“हामीले विमानस्थलको प्राविधिक र सुरक्षा पक्षको ६ घण्टा लामो विस्तृत निरीक्षण गर्यौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानका लागि पूर्ण रूपमा सुरक्षित र तयार छ। हामी पोखरा–दुबई दैनिक उडान सुरु गर्न इच्छुक छौं,” लुकासले भने।
उनले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक समन्वय र पहलमा मेयर आचार्यले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद समेत व्यक्त गरेका छन्।
फ्लाई दुबई विश्वप्रसिद्ध वायुसेवा कम्पनी इमिरेट्सको भगिनी (सिस्टर) एयरलाइन्स हो। फ्लाई दुबईले पोखराबाट उडान सुरु गरेपछि पोखरा इमिरेट्सको विश्वव्यापी सञ्जालसँग जोडिनेछ। यसबाट विश्वका ३०० भन्दा बढी प्रमुख सहरसम्म सहज पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, फ्लाई दुबईका उच्च अधिकारी, नेपाली प्रतिनिधिहरू तथा मेयर आचार्यको उपस्थितिमा पटक–पटक उच्चस्तरीय बैठकहरू सम्पन्न भइसकेका छन्।
मेयर आचार्यका अनुसार लामो समयदेखिको पहल, ६ घण्टे प्राविधिक निरीक्षण र सरोकारवालाबीचको गहन छलफलपछि नियमित उडानको मिति सार्वजनिक गर्ने चरण नजिक पुगेको छ।
उनले फ्लाई दुबईको चासो र हालसम्मको प्रगतिले पोखरेली जनता तथा पर्यटन व्यवसायीहरूमा नयाँ उत्साह थपेको बताए। उनका अनुसार यो उडान सञ्चालनमा आएमा गण्डकी प्रदेशका नागरिकलाई वैदेशिक रोजगारी, व्यवसाय तथा भ्रमणका लागि काठमाडौं धाउनुपर्ने बाध्यता कम हुनेछ भने मध्यपूर्व लगायत विश्वका विभिन्न मुलुकबाट पर्यटकहरू सिधै पोखरा भित्रिने बाटो खुल्नेछ।
