साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेमाथि संघर्षपूर्ण ३–२ को जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ।
मियामी स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले अधिकांश समय बल नियन्त्रणमा राखे पनि केप भर्डेले प्राप्त अवसरको उत्कृष्ट सदुपयोग गर्दै अन्तिम मिनेटसम्म कडा चुनौती दिएको थियो।
खेलको २९औँ मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। तर ५९औँ मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई १–१ को बराबरीमा फर्काए। निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। तर १०३औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले शानदार गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा ल्याए।
खेल अतिरिक्त समयमै पेनाल्टी सुटआउटतर्फ जान सक्ने संकेत देखिएका बेला १११औँ मिनेटमा डाइनी बोर्जेसबाट भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि निर्णायक बन्यो। सोही गोलसँगै अर्जेन्टिनाले ३–२ को कठिन जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
अब अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
