पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी विधेयक पुनः प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको छ।
शुक्रबार मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेश प्रमुखबाट सन्देशसहित फिर्ता आएको विधेयकमाथि छलफल गर्दै संघीय कानुनसँग बाझिएको विषयको अन्तिम निरूपण संवैधानिक इजलासबाट हुने भएकाले विधेयक पुनः पारित गर्ने निष्कर्ष निकालेको हो।
बैठकले गण्डकी प्रदेशमा सरकार सञ्चालनका लागि आवश्यक समन्वय, सहकार्य र सहमति कायम गर्न आवश्यक पहल गर्ने सम्पूर्ण अधिकार मुख्यमन्त्री पाण्डेलाई प्रदान गर्ने निर्णय पनि गरेको छ।
यस्तै, सुनसरीसहित मधेश प्रदेशका विभिन्न जिल्लामा हालै भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि, शोकाकुल परिवारप्रति समवेदना र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ। साथै सामाजिक सद्भाव, सहिष्णुता, भाइचारा र शान्ति कायम राख्न सबै पक्षलाई अपिल गरिएको छ।
बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलन र संविधानवादको सुदृढीकरणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गरेको प्रमुख सचेतक प्रकाश बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
