पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

समाचार

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गत साउन ५ गते राति करिब ९:२० बजे पालुङटार–२ भण्डारी चौतारास्थित सार्वजनिक बाटोमा सिरानचोक गाउँपालिका–३ हर्मीवाट घरतर्फ जाँदै गरेकी पालुङटार–२ ओडारेकी दुर्गा ए.सी.लाई कालो नकाबधारी व्यक्तिहरूले बाटोमा रोकी प्लास्टिकको बोराले मुख छोपेर नाइलनको डोरीले बाँधेका थिए। उनीसँग रहेको झोलाबाट १ लाख ७० हजार रुपैयाँ नगद तथा अन्य कागजात चोरी गरी फरार भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले पालुङटार–२ हर्मीकोट, आपीपिपलका २२ वर्षीय श्रीकृष्ण परियार र पालुङटार–२ ओडारेका २३ वर्षीय कुशल ए.सी.लाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूविरुद्ध डाँका चोरी मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *