तपाईंको मोबाइल वैध हो कि अवैध? दर्ता गर्न १५ दिन समय

शिक्षा समाचार

शुक्रबार, भदौ ३१, २०७९

लामो समयदेखि लागू गर्ने भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) को अन्ततः सफ्ट लञ्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक कार्यक्रम गर्दै यो प्रणालीको सुरूआत घोषणा गरेको हो।

यो प्रणाली लागू भएसँगै अब अवैध रूपमा आयात भएका मोबाइलहरू प्राधिकरणले ब्लक गर्नेछ। प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न एमडिएमएस प्रणाली लागू गरेको हो।

प्राधिकरणका अनुसार आज (भदौ ३० २०७९) सम्म जुनसुकै तरिकाले भित्रिएका सबै फोनलाई ‘ह्वाइट लिस्ट’ मा राखिएको छ। अर्थात् ती मोबाइल एमडिएमएस प्रणालीमा दर्ता भइसकेका छन्। यिनलाई फेरि लगेर दर्ता गरिराख्नु पर्दैन।

तर भोलिदेखि भन्सार छलेर, गैरकानुनी वा अवैध रूपमा भित्र्याइएका मोबाइल ब्लक गरिनेछ।

ब्लक गर्नुअघि प्राधिकरणले त्यस्ता मोबाइललाई दर्ता गर्न १५ दिन समय दिएको छ। दर्ताका लागि सूचना पनि पठाउँछ। तोकिएको समयभित्र फोन एमडिएमएसमा रजिस्टर नगरे स्वतः ब्लक गरिने व्यवस्था मिलाइएको छ।

हाल प्रयोगमा आएका मोबाइल एमडिएमएसमा दर्ता छ कि छैन भन्ने कसरी थाहा पाउने?

प्राधिकरणले हाल नेपालभर प्रयोगमा आएका र भित्रिएका सबै फोनहरूलाई ह्वाइटलिस्टमा राखेको छ। यसको अर्थ यी सबै वैध भए। तपाईंको फोन रजिस्टर भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ र दर्ता पनि गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *