मकवानपुर । गत आम निर्वाचन २०७९ को समिक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा २ जना पत्रकाहरु पिटिएका छन् । आफूहरुलाई पिट्ने व्यत्तिलाई कारवाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिन गएका पत्रकार विरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरी समेत दर्ता गर्न मानेको छैन ।
यही विषयलाई लिएर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुर परीसर अशान्त बन्यो । पत्रकारहरुको समर्थनमा प्रहरी कार्यालय पुगेका अन्य पत्रकार र दलका कार्यकर्ता बिच झडपको अवस्था आएपछि जिल्ला प्रहरीले प्रदेश प्रहरीबाट थप सुरक्ष बल मगाएको थियो ।
“पत्रकारहरु माथि यस्तो निन्दनिय व्यवहार अहिलेसम्म देखेको थिइन् । कांग्रेस कार्यकर्ताले समग्र पत्रकारहरुमाथि तथानाम बोले, हातपातकै अवस्था सृजना भयो, प्रहरी सुरक्षा घेरा भित्रै, हामी दिनभर त्यही नरजबन्द जस्तै अवस्थामा रह्यौ” एक पत्रकारले भने “अझै पनि जाहेरी दर्ता नगर्ने प्रहरीलाई दलको दबाब माथि बाटै आएको छ ।”
नेपाली काँग्रेसभित्र आन्तरीक द्वन्द्व रहेको र अन्तरघातकै कारण गत निर्वाचनमा गठबन्धनले हार व्यहोर्नु परेको समिक्षात्मक समाचार लेखेको कारण आपसमा भनाभनपछि हातपात भएको थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर १ ख बाट नवनिर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताहले कुटपिट गरेको घाइते पत्रकारहरुले बताएका छन् ।
बागमती एक्सप्रेस साप्ताहिकमा आएको समाचारको विषयमा विवाद हुँदा पत्रिकाको प्रकाशक रमेश बञ्जरा इन्द्र र पत्रकार रामकुमार रिजाल एलन माथि कुटपटि भएको हो । हेटौँडाको एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समयमा कांग्रेसका युवा नेता राजेश भेटवालको नेतृत्वमा आएका टोलीले आफूहरुलाई एक्कासी कुटपिट गरेको पत्रकारहरुले आरोप छ । करिब एक दर्जन कार्यकर्ताले बञ्जरा र एलनमाथि आक्रमण गरी घाइते बनाएका बताइएको छ । घाइते दुई पत्रकारले भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगेका थिए । तर प्रहरीले किटानी जाहेरी दर्ता गर्न मानेन । भोली ११ बजेको लागि दर्ताको समय तोकिएको प्रहरीले जनकारी दिएको छ ।
यसैबीच नेकपा एसनिकट समाजवादी प्रेस संगठनले एलनलाई कुटपिट गर्ने र योजनाकारको पहिचान गरी कारबाही गर्न माग गरेको छ ।
संगठनका उपमहासचिवसमेत रहेका एलनलाई राजेश भेट्वालसहितको टोलीले कुटपिट गरेको र पत्रकार महासंघ बागमतीका महासचिव कृष्ण सारु मगरमाथि पनि कुटपिट गरिएको भन्दै समाजवादी प्रेस संगठनले घटनाको विरोध गरेको हो । महासचिव मगर सामान्य घाइते भएको तथा एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको संगठनका महासचिव भूपराज खड्काले बताए ।
वागमती एक्सप्रेसमा हालै सम्पन्न चुनावमा कांग्रेसभित्रको घात–अन्तर्घातको समाचार प्रकाशित भएको थियो । मकवानपुर कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी समाचार झूट रहेको र त्यस्तो समाचार प्रकाशन नगर्न चेतावनी दिएको थियो ।
पत्रकार महासंघ मकवानपुर शाखाले पनि पत्रकार एलन, रमेश माथिको कुटपिटको भत्सना गरेको छ ।समाचारका विषयमा चित्त नबुझे खण्डन गर्ने र कानूनी उपचारको बाटो खोज्ने उपाय हुँदाहुँदै समाचार लेखेकै विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमण हुनु अत्यन्तै निन्दनीय कार्य भएको र उक्त घटनामा छुट्याउन जाने क्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरलाई समेत दुव्र्यवहार भएकोले पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहार घटनाको घोर भत्र्सना गर्दै दोषीलाई कारबाहीको माग गरिएको नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचिव शुभलक्ष्मी विश्वकर्माद्धारा हस्ताक्षरीत विज्ञप्तिमार्फत माग गरिएको छ ।
यस कुटपिटमा संलग्न रहेको आरोपित पक्षले भने राजनीतिक आरोप प्रत्यारोपको कुरा भन्दा पनि मादकपदार्थ सेवन गरिरहेको बेला भनाभन भएको र सामान्य हात हालाहाल भएको दाबि गरेको छ । अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यसै बिषयलाई लिएर सामान्य झडपको अवस्था सिर्जना भएको छ । विवादका क्रममा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेका पत्रकारहरु माथि आक्रमण गर्दै नेपाली काग्रेस निकट तरुण दल सम्बद युवाहरुले नारा जुलुस गरिरहेका छन् । यसै गरी प्रेस चौतारी मकवानपुरले पनि घटनाको भत्सना गर्दै दोषि माथि कारवाहीको माग गरेको छ ।
