२०८०।०२।१९, गोरखा, भच्चेक स्थित नेपाली सेनाको नाममा रहेको जग्गामा नेपाली सेनाद्धारा बृहत स्वास्थ्य शिविर, सचेतनामुलक कार्यक्रम, जग्गा हस्तान्तरण तथा बृक्षारोपण कार्यक्रम शुभारम्भ भएको छ ।

दुई दिन चल्ने सिबिरमा मिति २०८०।०२।१९ गतेबाट नेपाली सेनाको श्री पश्चिम पृतना हे.क्वा. पोखराको योजना र निर्देशन, श्री नं.३ बाहिनी अड्डा खैरेनीटारको संयोजकत्व, श्री रिपुमर्दन गण गोरखाको पहलता, समन्वय र व्यवस्थापन एवं अजिरकोट गाउँपालिका गोरखाको संयुक्त आयोजनामा जिल्लास्थित सरोकारवाला निकायहरु र अन्य सहयोगि हातहरुको बृहत सहभागितामा अजिरकोट गाउँपालिका वडा नं. ३ स्थित भच्चेकमा अजिरकोट गाउँपालिका तथा आसपासका ईलाकाहरुमा बसोबास गर्ने विपन्न समुदायका सर्वसाधारण नागरिक (वृद्ध-वृद्धा, महिला/पुरुष र बालबालिका) हरुलाई लक्षित गरी हाड जोर्नी, स्त्री रोग, चर्म रोग, नाक/कान/घाटी, आंखा सम्बन्धी, जनरल ओ.पि.डि. तथा अन्य विविध रोग सम्बन्धी समस्या भएका व्यक्तिहरुको उपचारको निमित्त नेपाली सेना तथा गैर सैनिक बिशेषज्ञ डाक्टरहरुबाट दुई दिने निःशुल्क वृहत् स्वास्थ्य शिविर (Medical Camp) तथा विविध सचेतना मूलक कार्यक्रमको शुभारम्भ भएको हो ।



उक्त शिविर संचालनको दौरान श्री भच्चेक मा.बि., भच्चेक र काफलडांडामा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा स्थानीय गरी करिब ३०० देखि ४०० जना जनसमुदायलाई सहभागी गराई बिविध चेतना मूलक कार्यक्रमहरु पनि संचालन गरिएको छ ।


सोही कार्यक्रमको दौरान अजिरकोट गाँउपालिकाको भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने बाटोको स्तरोन्नतीको लागि नेपाली सेना (श्री रिपुमर्दन गण) ले आफ्नो नाममा रहेको जग्गा अजिरकोट गाँउपालिकालाई हस्तान्तरण गरेको छ । भच्चेक बजारबाट काफलडांडा हुंदै लम्जुङ्ग जिल्ला जोड्ने उक्त सडक खण्ड फराकिलो बनाई सवारी साधनको आवागमन सुचारु भएको खण्डमा मुख्य रुपमा जनतालाई सहज हुने तथा समग्रमा आर्थिक रुपले समेत टेवा पुग्ने देखिएको हुंदा नेपाली सेना (श्री रिपुमर्दन गण) ले अजिरकोट गाँउपालिकाको अनुरोधमा नेपाली सेनाको नाममा रहेको अजिरकोट गाँउपालिका वडा नं.३ (साविक हंसपुर गा.बि.स. वडा नं.४) मा पर्ने ५३ रोपनीको जग्गा मध्ये सडक विस्तारको लागि आवश्यक भच्चेक बजारबाट काफलडांडा जाने संगम स्थलबाट करिब २०० मिटर लम्बाईको जम्मा ५ आना २ पैसा जग्गा नेपाली सेना श्री नं.३ बाहिनीपति गौरव कुमार के.सी. ज्यू द्वारा अजिरकोट गाँउपालिकालाई जग्गा हस्तान्तरण गरिएको हो भने कार्यक्रमको दौरान उपस्थित अतिथीहरु, उपचारमा खट्टिएका डाक्टरहरु, लगायत उपस्थित नेपाली सेनाका अधिकृत तथा पदिकहरुले स्वास्थ्य शिविर संचालन भएको नेपाली सेनाको नाममा रहेको जग्गाको खाली ईलाकामा बिभिन्न प्रजातिका ३०० बिरुवाहरुको बृक्षारोपण समेत गरेको छ।

