१० असार, गोरखा । गोरखामा २ दिने व्यवसायीक क्षमता अभिवृद्धि तालिम हुने भएको छ । आईतबार गोरखा सदरमुकाम स्थित होटल इनमा पत्रकार सम्मेलन गर्दै असार ११ र १२ गते उक्त तालिम हुने र तालिमको सम्पूर्ण तयारी भएको आयोजले जनाएको छ । उक्त तालिम पहिलो पटक वाग्लुङमा भएको थियो भने गोरखामा दोस्रो पटक हुन लागेको हो ।
गण्डकी प्रदेश भरीका होटल, रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी महासंघ, गण्डकी प्रदेशको आयोजकतामा र गोरखा होटल संघ गोरखाको सह–आयोजकतामा उक्त तालिम हुन लागेको हो । तालिमको समुद्घाटन गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने र समापन गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाले गर्ने होटल व्यवसायी महासंघका अध्यक्ष अर्जुन चोखालले जानकारी दिए ।
दुई दिन सम्म चल्ने उक्त तालिममा २ जना प्रशिक्षकहरुले सात वटा सेसनमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । प्रशिक्षकहरु होटल म्यानेजमेन्ट कलेजका प्रधानध्यापक प्रकाश रेग्मी र गण्डकी टेलिभिजनका घनश्याम पाण्डेले दिइने प्रशिक्षणमा गुणस्तरीय सेवा प्रवाह, आर्थिक तथा वित्तीय साक्षरता, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारी विचको सम्बन्ध, सरसफाई तथा पोषाक, व्यवसायको प्रमोसन, स्थानीय उत्पादनको व्यवसायीकरण लगायतका शिर्षकमा हुने अध्यक्ष चोखालले बताए ।
त्यस्तै उक्त तालिममा गण्डकी प्रदेश भित्रका विभिन्न जिल्लाका करिब १०० जना व्यवसायीहरुको सहभागिता रहने कार्यक्रम संचालक देवेन्द्र लम्सालले जानकारी दिए ।