उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।
डढेलोबाट बनजंगलको नाश मात्र नभई वातावरणीय असरले जलबायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहने हुनाले यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई नै डढेलो मुक्त गाउँपालिका घोषणा गरिएको अध्यक्ष लामाले बताए ।
गाउँपालिका क्षेत्र भित्रका जंगलहरुमा शिकारीहरुले बढी मात्रा डढेलो लगाउने गरेको पाइएकाले डढेलो नियन्त्रणका लागि कडाई गर्नुपर्ने अबस्था आएको गाउँपालिका अध्यक्ष लामाले बताएका छन । गाउँपालिकालाई प्रदुषण मुक्त क्षेत्र घोषणा भइसकेकाले त्यसको कार्यान्वयनका लागि पनि चुमनुब्रीलाई पहिलाडढेलो मुक्त गाउँपालिका बनाउन आबश्यक रहेको अध्यक्ष लामाको भनाई रहेको छ ।
घोषणा कार्यान्व्यनका लागि मनास्लु संरक्षण क्षेत्र आयोजनासंग पनि समन्वय गरेर गाउँगाउँमा जनचेतना फैलाउने योजना गाउँपालिकाले बनाएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चुम उपत्यका करिब एकसय तीन बर्ष अघिदेखि शान्ति र अहिसांको क्षेत्रको रुपमा प्रख्यात रहेको छ । अहिंसाको क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुदैन ।
बि.स १९७७ को वुद्धजयन्ती अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामुहिक प्रतिवद्धता गराएर अहिंसाको क्षेत्र घोषणा गरेको थियो । सोही भूमिलाई गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समेटेर गाउँपालिकालाई नै डढेलो मुक्त पालिका घोषणा गरेको हो ।
