प्रतीक्षा आले
असारको दोस्रो साता वितिसक्दा पनि गोरखामा अहिलेसम्म १२ प्रतिसत क्षेत्रफल जमिनमा मात्र रोपाइँ भएको छ ।
ढिलोगरी मनसुनी बर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो ।
अघिल्लो बर्ष यतिबेला जिल्ला भित्र २२ प्रतिसत क्षेत्रफल रोपाइँ सम्पन्न भएको थियो । जिल्लाको दक्षिणी भूभागमा धेरैजसो बर्खे धानखेती हुने गरेको प्रमुख अधिकारीले बताउनुभयो । यहाँको खेतीयोग्य जमिन मध्ये जिल्लाको ३५ प्रतिशत भूभागमा मात्र धानखेती हुने र ति जमिन मध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिञ्चाईको सुबिधा पुगेको उहाँको भनाई छ । केही दिनदेखि बर्षा सुरु भएकाले सवै तिर रोपाइँ गर्न सुरु भइरहेको उहाँले बताउनुभयो । गोरखा जिल्लामा करिब १० हजार ५ सय हेक्टर भन्दाबढी क्षेत्रफलमा धानखेती हुने गरेको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
कार्यालयले जिल्ला भित्रका सवै पालिकाहरुसंग नियमित रुपमा धान रोपाइँको डाटा लिएर मन्त्रालयमा रिपोटिङ गर्ने काम भइरहेको समेत उहाँले बताउनुभयो । गोरखामा किसानहरुले सावित्री, रामधान, सुख्खा १, सुख्खा २, सुख्खा ३, महाराजा, च्याम्पियन जस्ता धान रोप्ने गरेकोमा पछिल्लो समयमा किसानहरुले अन्य केही उन्नत जातको धानको बिऊहरु पनि लगाउन सुरु गरेका उहाँले बताउनुभयो ।
