गोरखा, फागुन २० । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ । प्रहरी श्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पाइएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका हुन् । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको अनुसन्धानमा संलग्न प्रहरी श्रोतले बताएको छ ।
फागुन १२ गते शनिबार बिहान एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गरेकी थिइन् । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भई रत्ननगर वडा नं १५ माधवपुरस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी छात्राले होस्टेलको कोठाको सिलिङ पंखामा डोरीको पासो लगाई झुण्डीएर आत्महत्या गरेकी हुन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।
यस प्रकरणमा एकता शिशु निकेतन स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई प्रहरीले पक्राउ परेका छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् ।
घटना शंकास्पद भएको भन्दै शालिनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । मृतक बालिकाको परिवारले पोष्टमार्टम गर्नका लागि शब काठमाडौँको टिचिङ अस्पतालमा लगेका थिए ।
शालिनको बलात्कार पछि हत्या भएको भनी परिवारले आन्दोलन गरिरहेका छन् । अहिले सामाजिक सञ्जाल पनि उनको न्यायका लागि तातिरहेको छ।
यता प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन् ।
