धार्चे गाउँपालिकाको स्थापना दिवसमा ११ पर्बतारोही सम्मानित

समाचार

गोरखा । गोरखाको धार्चे गाउँपालिकाको स्थापना दिवसको अवसरमा उत्कृष्टता हासिल गरेका गाउँपालिका भित्रका विभिन्न विधाका ब्यक्ति तथा संघ संस्थाहरुलाई गाउँपालिकाले सम्मान तथा पुरस्कृत गरेको छ ।

आइतबार गाउँपालिकाले स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिका भित्रका बिश्वको सर्बोच्च शिखर सगरमाथा हिमालको सफल आरोहण गर्ने १० जना र  मनासलु हिमालको सफल आरोहण गर्ने एक जना पर्बतारोहीका साथै कर्मचारी, बिद्यार्थी, कलाकार, पत्रकार तथा बिधालयलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै खोर्लावेशि सरसफाइ अभियान गरि फोहोर फ्याल्ने डस्बिनको ठाउँ ठाउँमा ब्यबस्था गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिएका छन् ।

सुनारका अनुसार गाउँपालिकाका कर्मचारी असिम गुरुङ उत्कृष्ट कार्य सम्पादनका आधारमा बर्ष उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत भएका छन्। गुरुङ नगद १० हजारसहित सम्मानपत्र, दोसल्लाले सम्मानित भएका छन्।

त्यसरी नै धार्चे गाउँपालिकाको लोगो सहित बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने धार्चे-४ का इमान गुरुङलाई नगद ६० हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएकाे छ।

यसैगरी धार्चे गाउँपालिकाको लोगो सहित मनासलु हिमालको सफल आरोहण गर्ने धार्चे-५ का नानुमाया गुरुङलाई नगद ४० हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएकाे छ।

यसैगरी बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने धार्चे गाउँपालिका-४ का मुलाल गुरुङ, तुलसिङ गुरुङ, पुर बहादुर गुरुङ, सुमन गुरुङ, बिश बहादुर गुरुङ, राम बहादुर गुरुङ, सन्दीप गुरुङ, धार्चे गाउँपालिका-३ का ओम बहादुर गुरुङ, धार्चे गाउँपालिका-५ का बिश बहादुर गुरुङलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएकाे छ।

सोही अवसरमा धार्चे गाउँपालिकाबाट एस.ई.ई परिक्षा २०७९ मा सर्वोत्कृष्ट अन्क ल्याइ पास गर्ने धार्चे गाउँपालिका -५ कि खुस्बु गुरुङलाई नगद १० हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएकाे छ।भने धार्चे गाउँपालिकाबाट एस.ई.ई परिक्षा २०७९ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने  केरौजा माध्यमिक बिधालयलाई नगद ४० हजारसहित सम्मानपत्रले सम्मान गरिएकाे छ ।

साथै धार्चे गाउँपालिका-५ का गायक/सर्जक धन बहादुर गुरुङ र पहिलो सूचीकृत पत्रकार धार्चे गाउपालिका-४ का  केशव गुरुङलाई समेत सोही अवसरमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएकाे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमा सञ्चालन गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक सिर्मल र स्वागत मन्तब्य गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *